Overblog
Edit post Follow this blog Administration + Create my blog
कृष्ण आचार्य

मन्त्रीज्यूको चप्पल मोह र राष्ट्रपति कार्यालय

कृष्ण आचार्य

जेठ २२ गते राष्ट्रपति कार्यालयले सूचना विभागलाई पत्र लेख्यो, ‘राष्ट्रपति सरिक हुने सार्वजनिक समारोहमा संचारकर्मीलाई अनिवार्य रुपमा तोकिएको मर्यादिन पोशाकमा खटाई पठाउने व्यवस्था गर्नु ।’ त्यसको १० दिनपछि सूचना विभागले संचारमाध्यमलाई पत्र काटेर सोहीअनुसार गर्न, गराउन निर्देशन दियो । तर, यी दुवै पत्रमा मर्यादित पोशाक भनेको के, कस्तो भन्ने उल्लेख थिएन । राष्ट्रपति कार्यालयको पत्रमा मर्यादितको अगाडि तोकिएको उल्लेख गरिएको थियो । त्यसैले पनि कस्तो पोशाक तोकिएको हो भन्ने जानकारी पत्रकारले पाउनुपथ्र्यो तर चलानी नम्बर ५७७ नम्बरको पत्रमा सो कुरा कहिँकतै उल्लेख थिएन । 
०००


हालसम्म पत्रकारले लगाएको पोशाक कसरी अमर्यादित भयो ? भन्ने प्रश्न मेरो दिमागमा खेलिरह्यो । पत्रकारहरु आफ्नो या राष्ट्रपतिको इज्जत जाने खालको कपडा लगाएर सार्वजनिक कार्यक्रममा गएको कुनै बिम्ब मेरो मानसपटलमा सलबलाएन । मनमनै प्रश्न गरेँ, कपडा नै नलगाए पो अमर्यादित त, कपडा लगाएर जाँदा पनि कसरी राष्ट्रपतिको सम्मानमाथि आँच पुगेछ ? 
केही समय सोचेपछि मर्यादित भनेर दौरा, सुरुवाल र सारी, चोलोलाई संकेत गरेको होला भन्ने अनुमान लगाएँ । यदि त्यसो हो भने ‘नेपाली पोशाक’ लेखिदिएको भए के नै जान्थ्यो र ? मैले फेरि नेपाली पोशाक नलेखिनुको कारण खोज्न थालेँ । र, ‘सुट’ लाई पनि मर्यादितभित्रै थपेँ । किन भने आजभोलि दौरा, सरुवाल र सारी, चोलोको स्थान सूटले लिँदैछ । अर्थात आधुनिकरण, पश्चिमिकरण सँगै सूटले नेपालमा राम्रै मार्केट लिएको छ । र, आफूलाई नेपाली पोशाकभन्दा माथिल्लो पंक्तिमा उभ्याउन सफल भएको छ । त्यतिकैमा मोबाइलको घन्टी बज्यो । र, एकछिनको कुराकानीपछि मेरो ध्यान यस सन्दर्भबाट भंग भयो । 
डेढ महिनापछि अहिले म त्यहीँनिर उभिएको छु । जतिबेला मेरो फोनको घन्टी बजेको थियो । किनकि सन्दर्भ त्यस्तै छ । पत्रकारिताको भाषमा भन्दा खुराक फेला परेको छ ।
०००
राष्ट्रपति कार्यालयले पत्र काटेको करिब डेढ महिनापछि शीतलनिवासमै एउटा दृष्य देखियो । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा देखिएको दृष्यले मलाई सो पत्र सम्झायो । मैले तत्काल दिमागमा एउटा प्रतिबिम्ब कोरेँ, पत्रकारको स्थानमा मन्त्रीहरुलाई राखेर । अनि जाँच गर्न थालेँ मर्यादा । शपथग्रहणका लागि १९ जना मन्त्रीहरु लामबद्ध थिए । राष्ट्रपति पनि त्यहीँ थिइन् । मन्त्रीहरुको भीडमा महेन्द्र यादव पनि थिए । यादव खानेपानी तथा सरसफाइ मन्त्रीको शपथ लिन शीतलनिवास पुगेका थिए । जहाँ उनको मात्र चर्चा थियो । सबै उनलाई नै हेरेर मुखामुख गरिरहेका थिए । उनको छेउमा उभिएर शपथ लिइरहेकाहरु केही लज्जित जस्ता देखिन्थे । यसको एउटै कारण थियो यादवले लगाएको चप्पल । 
०००
मन्त्री हुने आश नगरेका यादव शपथ ग्रहणभन्दा केही समयअघिमात्र आएको फोनले झस्किएका थिए । एकछिन त उनलाई विश्वास नै लागेन । नपत्याएर सुख्ख पनि थिएन । फोन देउवाको सचिवालयका जिम्मेवार व्यक्तिबाट आएको थियो । त्यसपछि त उनीमा खुसीको सीमा नै रहेन । दुई नम्बर प्रदेशको चुनाव आउँदै गर्दा त्यसक्षेत्रको प्रतिनिधित्व गराउन र मधेसी जनताको सहानूभुति क्याच गर्न देउवाले यादवलाई छानेका थिए । फोनको घन्टीसँगै यादव हतार–हतार शीतलनिवास हानिए, चप्पलमै । उनले लगाएको लुगा पनि कत्तिको मर्यादित थियो भन्ने पत्रकारको लुगालाई अमर्यादित देख्ने राष्ट्रपति कार्यालयलाई नै थाहा होला । तर, पत्रकार र मन्त्रीमा धेरै फरक छ । मन्त्री राज्यको महत्वपूर्ण जिम्मेवारी काँधमा बोकेर हिँड्ने व्यक्ति । जो सबैको नजरमा हुन्छ, जसका गतिबिधि सबैले नियाल्छन् र सँगसँगै ऊ सभ्य, शीष्ट, मर्यादित हुनुपर्छ । उसको व्यक्तित्वले पनि उसलाई हेर्ने दृष्टिकोणमा फरक पर्छ । के यो कुरा हाम्रा यादवज्यूलाई थाहा थिएन ? या घरबाट निक्लदा मन्त्री बनेको उन्मादमा उनले जुत्ता लगाउन बिर्सिए ? के बाटोभरी उनले यो कुरा सोचेनन् ? घरमा नभए पनि बजारभरी नगन्य जुत्ता पसल छन् । जुत्तामात्र होइन, उनले चाहेको भए जुनसुकै कपडा ‘तु’ मगाउन सक्थे । या आफै गएर साइज मिलाइमिलाई खरिद गर्न । त्यसका लागि उनलाई केवल ३० मिनेट काफी हुन्थ्यो । जुन ३० मिनेट उनले शीतलनिवास पुगेर व्यर्थ खर्चिएका थिए । 
चप्पलकै कारण उनको इज्जत, प्रतिष्ठा, मान, मर्यादा सकियो भन्न खोजेको पनि होइन । तर, पक्कै पनि मन्त्रीज्यूको चप्पल प्रेमले राष्ट्रप्रमुखमाथिको सम्मानमा भने ठेस पुगेको छ । कि पुगेन सम्माननिय राष्ट्रपतिज्यू ? राष्ट्रपति कार्यालयले मन्त्रीका लागि कुनै आचारसंहिता बनाएको छैन कि कसो ? या उनको हुलिया मर्यादित थियो ? कि मन्त्रीले जे गरेपनि हुने हो ? 
०००
खासमा चुरो कुरो अर्कै छ । शपथ ग्रहणको समयमा सरकारी मिडियाका बोहक अन्य पत्रकारलाई शीतलनिवासमा प्रवेश नै दिइएन । कतै पत्रकारले अमर्यादित पोशाक लगाएकाले त होइन ? यदि त्यसो हो भने शपथ ग्रहण गर्न पुगेका मन्त्रीको टोपीबिनाको कुर्ता, सुरुवाल र चप्पल चाहिँ मर्यादित ! राष्ट्रपति कार्यालयले उल्लेख नगरेको मर्यादित पोशाक यस्तो पो रहेछ । विचरा पत्रकारहरुलाई के थाहा । अब त सूचना विभागले पनि बुझिसक्यो होला । लौन, अबदेखि पत्रकारहरु मर्यादित पोशाक (कुर्ता, सुरुवाल र चप्पल) लगाएर मात्र राष्ट्रपति सहभागी कार्यक्रममा उपस्थित हुने व्यहोराको अर्को पत्र संचार माध्यमलाई पठाइदिनुपर्यो ।

 

twitter: @krishna79606


नयाँ पत्रिकाको गज्जब साप्ताहिकमा प्रकाशित ।
 

Share this post
Repost0
To be informed of the latest articles, subscribe:
Comment on this post